अग्रगामी मोर्चा’ सत्ता आरोहणका लागि होइन, उपलब्धि जोगाउने अभियान हो : सिके राउत


काठमाडौं, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नयाँ राजनीतिक मोर्चाको उद्देश्य सरकारमा पुग्नु नभई मुलुकमा स्थापित लोकतान्त्रिक तथा संवैधानिक उपलब्धिको संरक्षण गर्दै आवश्यक संघर्षलाई अघि बढाउनु रहेको बताएका छन्।
‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै राउतले लामो राजनीतिक संघर्षबाट प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारजस्ता उपलब्धि कमजोर हुन नदिन साझा प्रयास आवश्यक रहेको बताए।
उनका अनुसार विगतका आन्दोलन र राजनीतिक यात्रामा भएका कमजोरीलाई बेवास्ता गरेर अघि बढ्नेभन्दा त्यसको समीक्षा गर्दै नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो। पार्टी सञ्चालनदेखि सरकार सञ्चालनसम्म भएका कमीकमजोरीबाट पाठ सिकेर आगामी राजनीतिक यात्रालाई सुधारमुखी बनाउनुपर्ने उनको भनाइ छ।
राउतले नयाँ मोर्चाको गठनलाई सत्ताको भागबन्डा वा कुर्सी केन्द्रित राजनीतिक अभ्यासका रूपमा नबुझ्न आग्रह गरे। उनले मोर्चा कुनै पद वा सरकार कब्जा गर्ने उद्देश्यले नभई जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा संघर्ष गर्न निर्माण गरिएको स्पष्ट पारे।
‘हामीले यो मोर्चा कुर्सीका लागि होइन, संघर्षका लागि बनाएका हौँ,’ राउतले भने, ‘संविधान र लोकतान्त्रिक मूल्यअनुसार अघि बढ्ने व्यक्तिको कुर्सीलाई यसबाट कुनै खतरा हुँदैन।’
उनले विगतका अनुभवबाट सिक्दै राजनीतिक दल तथा नेतृत्वले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। जनताको अपेक्षा र अधिकारलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूबीच सहकार्य र संघर्षको नयाँ बाटो निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
राउतले ‘अग्रगामी मोर्चा’लाई तत्कालीन सत्ता समीकरणभन्दा फरक दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने संकेतसमेत गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको