वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका-१४ स्थित एक पेट्रोल पम्पबाट हवाई इन्धन चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगन्ज–१४ स्थित सौदागर आयलमा शुक्रबार छापा मारिएको थियो।
छापाका क्रममा ना.७ ख १५३९ नम्बरको हवाई इन्धन बोकेको ट्यांकरबाट ग्यालिनमा इन्धन भरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्यांकरमा लगाइएको सुरक्षा सिल फलामको पाइपको हुक प्रयोग गरी माथि सारेर इन्धन निकाल्ने कार्य भइरहेको थियो।
पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी, वीरगन्ज-११ का रफिक मियाँ, हेटौँडा-११ का सन्देश रानामगर, हेटौँडा-१० का केशरराम सुनार, हेटौँडा–१४ का मन्दसिंह लामा र उमेश रानामगर रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









