काठमाडौँ। सरकारले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाल ई-प्रमाणीकरण प्रणाली शुभारम्भ गरेको छ।
बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रणालीको शुभारम्भ गर्दै यसबाट कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने बताउनुभयो।
कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन दिन, आवेदनको अवस्था हेर्न, राजस्व भुक्तानी गर्न तथा अपोइन्टमेन्ट बुक गर्न सकिने व्यवस्था गरिएको मन्त्री खनालले जानकारी दिनुभयो।
उहाँले विगतमा कागजात अपुग वा त्रुटिपूर्ण हुँदा सेवाग्राहीले पटक-पटक विभाग धाउनुपर्ने र लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब अनलाइनबाट आवेदन स्वीकृत भएपछि मात्र विभागमा उपस्थित भए पुग्ने भएकाले सेवा छिटो, सहज र मितव्ययी हुने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री खनालले आगामी दिनमा हुलाक सेवा विभागसँगको सहकार्यमा प्रमाणीकरण भएका कागजात सेवाग्राहीको घरमै पुर्याउने तथा स्थानीय तहसँग अन्तरनिकाय आबद्धता विस्तार गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।









