रौतहट। रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पूर्व-पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुर तथा चन्द्रपुर र निजगढ नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
दुर्घटनापछि केही समय प्रभावित भएको पूर्व-पश्चिम राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका-११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









