सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार र कर्जन्हामा प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले ‘सुनसरीमा मारिएका व्यक्तिलाई न्याय दे’, ‘गृहमन्त्रीले राजीनामा देऊ’, ‘गोली चलाउनेमाथि कारबाही गर’ र ‘प्रहरी दमन बन्द गर’ लगायतका नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
उनीहरूले प्रहरीबाट गोली नचलाइएको भए गोली कसले चलायो भन्ने विषयको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै भोलिसम्म ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा कर्जन्हा र गोलबजारमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको बताए। प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म सिरहाको अवस्था सामान्य रहेको र कुनै उच्छृङ्खल गतिविधि नभएको जानकारी दिए।
उनका अनुसार परिस्थिति जटिल बनेमा सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी आवश्यक निर्णय लिइनेछ।
यसअघि आइतबार दिउँसो करिब २ बजे कर्जन्हा नगरपालिका-बन्दीपुरस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए।
उल्लेखनीय छ, सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ।
प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









