बर्दिबासमा ४.४६० ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ


महोत्तरी। महोत्तरीको बर्दिबासबाट प्रहरीले ४ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिबास नगरपालिका-१ स्थित पूर्वपट्टी बस काउन्टर अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेका धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-४ निवासी अन्दाजी ३५ वर्षीय सुनिल साहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहको साथमा रहेको रातो रङको झोलाको तलासीका क्रममा पहेँलो प्लास्टिकभित्र रहेको सेतो प्लास्टिकमा लुकाइराखिएको अवस्थामा प्लास्टिकसहित ६ ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक शुद्ध ४ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने अर्धगिलो पदार्थ बरामद गरिएको हो।

बरामद लागूऔषधसहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई साउन ३ गते महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

जिल्ला अदालत महोत्तरीले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि १० दिनको म्याद थप गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको