समयअनुसार विचार परिवर्तन गर्न सक्नुपर्छ: प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार विचार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन तथा जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले आफूले बेला–बेला ‘क्रमभंग’को कुरा गर्दा त्यसको गलत अर्थ लगाइने गरेको गुनासो गरे। उनले क्रमभंग प्रकृति, समाज र मानव सभ्यताको स्वाभाविक नियम भएको उल्लेख गर्दै निरन्तरतासँगै परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए।

“म बिल्कुल हतारिएको छैन। मैले क्रमभंगको कुरा गर्दा कतिपयले उत्पात मच्चाउन खोज्यो भन्ने अर्थ लगाउँछन्। तर क्रमभंग भनेको प्रकृति, समाज र मानव समाजको नियम हो। निरन्तरतासँगै परिवर्तन आवश्यक हुन्छ,” उनले भने।

प्रचण्डले एउटै विचार र शैलीमा अडिग रहिरहने नेताहरूले समयको मागअनुसार आफूलाई परिवर्तन गर्न नसक्ने टिप्पणी पनि गरे। उनका अनुसार एकै ठाउँमा अडिएर बस्ने प्रवृत्तिले राजनीतिक आन्दोलनलाई अघि बढाउन सक्दैन।

“क्रममै बसिरहनुभयो भने अघि बढ्न सकिँदैन। हाम्रा धेरै साथीहरू अझै पनि बौद्ध भिक्षुजस्तै एकै ठाउँमा बसेर घण्टी बजाइरहेका छन्। अहिले पनि नयाँ जनवादकै कुरा गरिरहेका छन्। त्यसले अब कहीँ पुर्‍याउँदैन,” उनले भने।

उनले वर्तमान परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलनले पनि आफ्नो सोच, नीति र कार्यदिशामा परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गरे। आफूलाई परिवर्तन र गतिशीलताको पक्षधरका रूपमा बुझ्नेहरूलाई धन्यवाद दिँदै फरक ढंगले व्याख्या गर्नेहरूलाई पनि सम्मान गर्ने उनले बताए।

प्रचण्डले समयअनुकूल विचार र रणनीति परिवर्तन गर्न सक्ने क्षमता नै कम्युनिस्ट नेतृत्वको विशेषता हुनुपर्नेमा जोड दिए। onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको