७ असार, सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लामा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० निवासी १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
खोलामा डुबेका दुवै जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले शनिबार साँझ नै उनीहरूलाई मृत घोषणा गरेका थिए।
यस्तै, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको पनि शनिबार दहतातलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। वर्षायामसँगै नदी, खोला तथा जलाशयमा पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।









