काक्रोभित्र लुकाएर ल्याइएको १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ


सिन्धुली। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक हायसबाट काक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले कमलामाई नगरपालिका-९ भिमानस्थित बीपी राजमार्गमा सवारी जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो झोलाभित्र शंकास्पद वस्तु देखिएपछि खानतलासी गरिएको थियो। जाँचका क्रममा काक्रोमा प्वाल पारेर भित्र कालो र सेतो प्लास्टिकले बेरिएको दुईवटा पोका फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक परीक्षणमा उक्त पदार्थ खैरो हेरोइन जस्तो देखिएको र प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

घटनापछि श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरी निरीक्षक अजय कुमार कशवाहा का अनुसार पछिल्लो समय बीपी राजमार्ग हुँदै लागूऔषध ओसारपसार गर्ने प्रयास बढ्दै गएको छ। प्रहरीले राजमार्गका विभिन्न स्थानमा निगरानी र आकस्मिक चेकजाँच थप कडा बनाइएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको