रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा शनिबार तनाव सिर्जना भएको छ।
बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा विवाद चर्किएपछि होहल्ला भएको थियो भने केही नेता तथा प्रतिनिधिसभा सदस्यलाई कार्यकर्ताले बैठकस्थलबाटै बाहिर निकालेका छन्।
बैठकमा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी भएका थिए। उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेको आरोप लगाउँदै कार्यकर्ताले विरोध गरेका थिए।
समझदारी हुन नसकेपछि आक्रोशित कार्यकर्ताले धक्का दिँदै उनीहरूलाई बैठकस्थलबाट बाहिर निकालेको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको थियो।
केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवाद थप चर्किएको बताइएको छ। त्यसयता कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ।
















