काठमाडौँ । आजदेखि नेपाली चलचित्र बजारमा एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन्। दर्शकमाझ आजबाट ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’ प्रदर्शनमा आएका हुन्।
यम थापाको निर्देशनमा बनेको फिल्म लालीबजार मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ र अभय बराललगायत कलाकारहरूको अभिनय रहेको छ। यसअघि वैशाख १८ गते रिलिज हुने तयारीमा रहेको उक्त फिल्म कानुनी विवादका कारण स्थगित भएपछि आजबाट प्रदर्शनमा आएको हो। फिल्मले देशभर १२० भन्दा बढी शो पाएको बताइएको छ।
त्यसैगरी गायक रामकृष्ण ढकाल ले पहिलो पटक निर्माण गरेको फिल्म मालती मंगले पनि आजदेखि प्रदर्शनमा आएको छ। प्रकु पाण्डेयको निर्देशन रहेको फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मले देशभर करिब १०५ शो पाएको छ।
यस्तै प्रेम सोनी सुनारको निर्देशनमा बनेको फिल्म गुरु आमा मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ र सुशील पोखरेललगायत कलाकारहरूको अभिनय रहेको छ। उक्त फिल्मले देशभर करिब ७१ शो पाएको छ।
तीन फरक कथावस्तु र शैलीका नेपाली फिल्म एकै दिन प्रदर्शनमा आउँदा यस साताको बक्स अफिस प्रतिस्पर्धा रोचक हुने देखिएको छ।









