स्थानीयसँग विवाद पछि डीएसपी हमाल बर्दिबास छिन्नमस्ता बाहिनीमा तानिए, छानबिन सुरु


सिरहा। सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई छानबिनका लागि बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँगको विवाद तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगजस्ता विषयमा अनुसन्धान गर्न हमाललाई मुख्यालय बोलाइएको हो।

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो। सोही क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा उनले स्थानीयलाई ‘तिमीहरू तस्कर हौ’ भन्दै अभिव्यक्ति दिएको सुनिन्छ।

उक्त घटनापछि स्थानीयहरूले विरोध जनाउँदै भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगबारे प्रश्न उठाएका थिए। भिडियोमा डीएसपी हमाल हेलमेटसहित भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा देखिएका छन्।

विवाद बढेपछि स्थानीयहरूले शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। स्थलगत निरीक्षणपछि उनले सम्पूर्ण स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुचित भएको प्रतिक्रिया दिएका छन्। साथै, प्रहरीको पोशाकमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्नु अस्वीकार्य भएको भन्दै घटनाबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।

स्थानीयवासीहरूले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै संलग्नमाथि कारबाहीको माग गरेका छन्।

यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादका कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी-२ मुख्यालय तानिएको जानकारी दिएका छन्।

डीएसपी हमाल यसअघि सशस्त्र प्रहरी बलको माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको