सिन्धुली। सिन्धुली का विभिन्न बजार क्षेत्रमा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन्। आपूर्ति भइरहेको भनिए पनि बजारमा सहज रूपमा ग्यास नपाइएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन्।
ग्यास लिन डिलर तथा पसलमा पुगेका उपभोक्तालाई “ग्यास छैन” भन्दै फर्काइने गरेको गुनासो बढ्दो छ। तर सोही समयमा ग्यास ढुवानी हुने गाडी बजार क्षेत्रमा आइरहेको देखिनुले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंका गरिएको छ।
केही स्थानमा भने डिलरहरूले आफूले चिनेका वा पहुँच भएका व्यक्तिलाई मात्र ग्यास उपलब्ध गराउने गरेको आरोप पनि लागेको छ। सामान्य उपभोक्तालाई ग्यास नभएको भन्दै फर्काइने तर चिनजान भएका व्यक्तिलाई सहजै उपलब्ध गराइने गरिएको उपभोक्ताको भनाइ छ। यसले बजार व्यवस्थापनप्रति थप प्रश्न उठाएको छ।
व्यापारीहरूले भविष्यमा ग्यासको मूल्य बढ्न सक्ने अनुमान गर्दै अहिले नै ग्यास लुकाएर राखेको हुनसक्ने चर्चा पनि बजारमा भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा देखिएको तनाव र सम्भावित युद्धको प्रभावका कारण मूल्य बढ्न सक्ने आशंकामा केही डिलरहरूले बिक्री नगरी भण्डारण गरिरहेको हुनसक्ने उपभोक्ताको अनुमान छ।
बजारमा ग्यास अभाव देखिँदा दैनिक जीवन प्रभावित भएको छ। धेरै घरपरिवार खाना पकाउन ग्यासमा निर्भर भएकाले उपभोक्ताले सास्ती भोग्नुपरेको बताएका छन्। कतिपयले ग्यास नपाएपछि दाउरा वा अन्य इन्धन प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन्।
यस्तो अवस्था देखिँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नभएको भन्दै प्रश्न उठ्न थालेको छ। उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायले तत्काल बजार अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
उपभोक्ताका अनुसार आपूर्ति भइरहेको ग्यास बजारमा किन उपलब्ध नभएको भन्ने विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न आवश्यक छ। बजारमा कृत्रिम अभाव भए/नभएकोबारे यथार्थ पत्ता लगाई उपभोक्तालाई अनावश्यक सास्तीबाट बचाउन सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ।
स्रोत: सिन्धुली साैगात









