निर्वाचन रिपोर्टिङमा प्रशासनिक झन्झटबारे पत्रकार महासंघको ध्यानाकर्षण


काठमाडौं। नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका क्रममा सञ्चारकर्मीहरूले प्रशासनिक झन्झट व्यहोरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा समाचार संकलनका लागि आवश्यक पास उपलब्ध गराउन माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मतदानको अघिल्लो दिनसम्म पत्रकार तथा सञ्चारगृहलाई सहज रूपमा सूचना प्रवाह गर्ने वातावरण नबनेको गुनासो गरे। उनले मतदान तथा मतगणनाको समाचार संकलनका लागि सवारी साधनको पाससमेत तत्काल उपलब्ध गराउनुपर्ने बताए।

जारी विज्ञप्तिमा भनिएको छ, “पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बन्धित निकायको कर्तव्य हो। अन्यथा निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्छ।”

त्यस्तै, निर्वाचन अवधिभर सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघले आग्रह गरेको छ। साथै, पत्रकारलाई सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिताको पालना गर्न अपिल गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको