काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज देशभर हर्षोल्लासका साथ रङ्ग र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उल्लासको सन्देश बोकेको यो पर्व प्राचीनकालदेखि मनाउँदै आएको परम्परा हो।
फागु पर्वका अवसरमा सरकारले परम्परादेखि नै सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन अनुसार यस वर्ष मङ्गलबार पर्व मनाइँदैछ, र त्यहाँ पनि सार्वजनिक बिदा दिइएको छ।
काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज उपस्थित सर्वसाधारणले रङ्गीचङ्गी वातावरणमा गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लिने र चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास रहेको छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई ध्वजापताकासहित सिँगारी चिर गाडेपछि फागु सुरु हुने मान्यता छ। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र मासु अर्पण गरी ‘जधु’ धारामा चुठाउने परम्परासमेत रहेको छ।
पौराणिक कथाअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा पस्न लगाउँदा होलिका भष्म भइन् तर प्रह्लादलाई केही भएन। शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको पराजय र सत्यको विजयको प्रतीकस्वरूप होली मनाउने परम्परा बसेको विश्वास गरिन्छ।
यस्तै द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतना श्रीकृष्णलाई हानी पुर्याउन असफल भई मारिएको प्रसंगसँग पनि फागु पर्व जोडिएको धर्मग्रन्थहरूमा उल्लेख छ।