दशक बित्दा पनि बनेन जनकपुरधाम-भिठामोड सडक, स्थानीय आक्रोसित


महोत्तरी। महोत्तरी र धनुषालाई भारतीय सीमासँग जोड्ने जनकपुरधाम-भिठामोड सडकखण्ड समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले दैनिक सास्ती भोग्दै आएका छन्। तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०७३ भदौ २४ गते शिलान्यास गरिएको सडक एक दशक बित्दा पनि पूरा हुन सकेको छैन।

महोत्तरीको निर्वाचन क्षेत्र २ र ३ तथा धनुषा क्षेत्र नम्बर ३ हुँदै भारतीय सीमासम्म पुग्ने यो सडकखण्डमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन्। पर्यटकदेखि सर्वसाधारणसम्मका लागि महत्त्वपूर्ण मानिने सडक जीर्ण अवस्थामा छ। थुप्रै स्थानमा खाल्डाखुल्डी रहेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ।

जलेश्वर नगरपालिकाका नन्दी दासले सडक निर्माण अविलम्ब सुरु गर्न माग गर्दै एक दशकअघि आमरण अनसनसमेत बसेका थिए। तर अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

हरेक निर्वाचनमा उम्मेदवारले सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नहुँदा मतदाता निराश बनेका छन्। विकासका एजेन्डा लिएर नेताहरू मत माग्न आए पनि दशक बित्दा पनि सडक अधुरै रहनुले जनआक्रोश बढेको छ।

९३ करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त सडक दुई खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डअन्तर्गत जनकपुरधामको जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म ४३ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। दोस्रो खण्ड पिपरादेखि भिठामोडसम्म ९.५६ किलोमिटर सडक निर्माणका लागि आशिष पप्पु रोशन जेभीसँग ४९ करोड ८९ लाख रुपैयाँमा सम्झौता गरिएको थियो।

सडक आयोजनाका अनुसार साइट क्लियरेन्स तथा बजेट अभावका कारण पटक-पटक म्याद थप्दा पनि काम समयमै सम्पन्न हुन सकेको छैन। निर्माण ढिलाइका कारण हजारौं नागरिकले दैनिक आवागमनमा कठिनाइ भोग्दै आएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको