प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रौतहट सीमामा कडा सुरक्षा, ७२ घण्टा अघि नाका बन्द गरिने


रौतहट। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार विभिन्न नाकामा विशेष निगरानी बढाइएको हो।

विशेषगरी गौर भन्सार, ईशनाथ नगरपालिका अन्तर्गत लतमरी नाका तथा बौधीमाईको बन्कुल नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडा चेकजाँच सुरु गरेका छन्। सीमा क्षेत्र हुँदै आवतजावत गर्ने मोटरसाइकल तथा अन्य सवारीसाधनका कागजात र चालक अनुमतिपत्र परीक्षण भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागसमेत परिचालन गरी गस्ती तथा सूक्ष्म निगरानी बढाइएको छ। उनले होली पर्व मर्यादित रूपमा मनाउन र आपसी धर्म-संस्कृतिको सम्मान गर्दै शान्ति कायम राख्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार सीमापारिबाट हातहतियार, विस्फोटक पदार्थ, मदिरा तथा लागूऔषधजस्ता अवैध वस्तु भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा कडाइ गरिएको हो। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघि अर्थात् फागुन १८ गतेदेखि सीमा नाका पूर्ण रूपमा बन्द गरिने, मदिरा बिक्री-वितरण रोक लगाइने र आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि विशेष निगरानी बढाइने उनले बताए।

मतदाताले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर नेपाल प्रहरीको मोबाइल स्ट्राइकिङ टोली २४सै घण्टा परिचालन गरिने जनाइएको छ। ५४१ मतदान केन्द्र रहेको रौतहटमा २७७ वडाका स्थायी तथा तीन अस्थायी मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्थासहित निर्वाचन सम्पन्न गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

सुरक्षा निकायले निर्वाचन आचारसंहिताको पालना गराउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चौबीसै घण्टा गस्ती र निगरानी गरिरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको