मलंगवामा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते, मन्दिर परिसरबाट हतियार बरामद


७ फागुन, मलंगवा। सर्लाहीको सदरमुकाम मलंगवा मा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका-४ ढाका बोर्डर टोलका १५ वर्षीय आकाश राम गोली लागेर घाइते भएका हुन्।

घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा उनले पेस्तोल फेला पारेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रहरी नायब उपरीक्षक सरोज राई ले जानकारी दिएका छन्।

गोली उनको दाहिने हातको पञ्जामा लागेको छ। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको जनाएको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उक्त पेस्तोल भेटिएको स्थानबाट करिब पाँच सय मिटर दूरीमा गत आइतबार साँझ पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको