रौतहटमा श्रीमतीको हत्या, श्रीमान फरार – घरमै मृत फेला


४ फागुन, रौतहट। रौतहटमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। फतुवा विजयपुर नगरपालिका-६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नी ३५ वर्षीया श्रीमती आरतीदेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार यादव दम्पतीबीच लामो समयदेखि वैवाहिक सम्बन्धमा खटपट र तनाव रहेको थियो। महन्थ गाउँ नजिकै सानो होटल सञ्चालन गर्दै आएका थिए भने आरती विगत केही वर्षदेखि उद्योगमा काम गर्ने भन्दै घर छाडेर वीरगञ्ज, जीतपुर, सिमरा र चन्द्रपुरलगायत स्थानमा बस्दै आएकी थिइन्। करिब डेढ वर्षपछि पाँच दिनअघि मात्र उनी घर फर्किएकी थिइन्।

शनिबार राति सँगै रहेका उनीहरू आइतबार बिहान ११ बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयले शंका गर्दै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरी टोलीले जनप्रतिनिधिको रोहवरमा ढोका खोल्दा आरती आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट बञ्चरो र दाउ बरामद गरिएको छ।

घटनापछि महन्थ फरार भएका छन्। वडा अध्यक्ष राम एकवाल यादवका अनुसार फोन सम्पर्क हुँदा उनले श्रीमतीको चरित्रमाथि आरोप लगाउँदै हत्या गरेको बताएका थिए र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए।

जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले घटनाको पुष्टि गर्दै दम्पतीबीच लामो समयदेखि विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। अनुसन्धान नसकिँदासम्म घटनाको कारणबारे औपचारिक निष्कर्ष दिन नसकिने उनले बताए।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको