शहीदगेट-अमारे भित्री सडकखण्डमा गाडी २०० मिटर तल खस्यो
सिन्धुली। सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-५ स्थित खहरे गाउँको शहीदगेट–अमारे भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
कुलपूजाका लागि अमारेबाट गाउँखर्कतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ८५०० नम्बरको बोलेरो गाडी बिहीबार साँझ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनाका क्रममा गाडीमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि खुर्कोटस्थित खाल्टेको आत्मीय अस्पतालमा लगिएको र केही घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलको कमाण्डमा टोली र प्रहरी चौकी रातामाटाबाट प्रहरी सहायक निरीक्षक टेमप्रसाद तिमल्सिनाको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको जनाएको छ। दुर्घटनामा परेको सवारी साधन घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









