वर-पीपल कटानले स्तब्ध बर्दिबास


२२ माघ, बर्दिबास। महोत्तरीको बर्दिबास आज बाहिरबाट शान्त देखिए पनि भित्रभित्रै स्तब्ध बनेको छ। सडक विस्तारको नाममा काटिएका वर-पीपलका दर्जनौँ वृक्षले शहरको पर्यावरण र भावनामा गहिरो चोट पु¥याएको स्थानीयवासीको भनाइ छ।

करिब चार दशकअघि रोपिएका ती वृक्ष बर्दिबासको पहिचान र सामूहिक स्मृतिका साक्षी थिए। आज ती रुख काटिँदा स्थानीयले आफ्नै अस्तित्वमा प्रहार भएको महसुस गरेका छन्।

“यी रुख केवल काठ होइनन्, हाम्रो सास हुन्,” स्थानीय बासिन्दा रामनारायण साह भन्छन्, “रुख ढलेसँगै शहरको आत्मा पनि थचक्क बसेको छ।”

सडक फराकिलो बन्दै गए पनि वातावरणीय सन्तुलन बिग्रँदै गएको स्थानीयको गुनासो छ।

“सडक चौडा भयो, तर धुलो यति बढ्यो कि घरभित्र बस्नै गाह्रो भयो,” अर्का स्थानीय शान्ति देवी यादवले भनिन्, “छायाँ, चिसोपन र शान्ति सबै हरायो।”

स्थानीय युवा अर्जुन चौधरीका अनुसार विकास आवश्यक भए पनि विकल्पविना गरिएको कटान स्वीकार्य छैन। “विकासको नाममा सबै काट्नु विकास होइन,” उनले भने, “रुख जोगाएर पनि सडक बनाउन सकिन्थ्यो।”

पर्यावरणविद्हरूले वर-पीपलजस्ता दीर्घायु वृक्ष कटानले तापक्रम वृद्धि, धुलो प्रदूषण र स्वास्थ्य जोखिम बढाउने चेतावनी दिएका छन्। स्थानीयवासीले विकास र पर्यावरणबीच सन्तुलन कायम गर्दै योजनाबद्ध विकास गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको