प्रलेस महोत्तरीले शहीद स्मरण गर्दै २१औँ स्थापना दिवस मनायो


१६ माघ बर्दिबास – जीवनराज दाहाल। शहीदप्रतिको सम्मान र साहित्यिक चेतनाको निरन्तरतासहित प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) महोत्तरीले आफ्नो २१औँ स्थापना दिवस शहीद स्मृति कार्यक्रमका रूपमा मनाएको छ।

२०८२ साल माघ १६ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रम प्रलेस महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही) को अध्यक्षता तथा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष एवम् प्रलेस महोत्तरीका संस्थापक अध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रलेस महोत्तरीका सचिव नारदप्रसाद काफ्लेले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय गान तथा शहीदप्रति मौनधारणपछि कार्यक्रमका गतिविधिहरू अघि बढेका थिए। साहित्य, चेतना र स्मृतिलाई एउटै मञ्चमा समेट्दै शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। मन्तव्य राख्ने अतिथिहरूमा प्रलेस नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, संस्थापक तथा दोस्रो अध्यक्ष जीवनस्पर्शी, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रलेस मधेश प्रदेश उपाध्यक्ष रुद्रसेन विश्वकर्मा, सचिव भिम राउत, कोषाध्यक्ष फुलगेन मगही, बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठ, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव सुदर्शन भट्टराई रहेका थिए।

कार्यक्रम साहित्यिक अभिव्यक्तिले अझ सजीव बनेको थियो। शहीद विशेष र समसामयिक कविता, गीत तथा मुक्तक वाचनमार्फत शहीदको बलिदान र आजको यथार्थबीचको सम्बन्ध उजागर गरिएको थियो। वाचन गर्नेहरूमा विदुषी अर्याल, फुलगेन मगही, नानीराम दहाल, भिमकुमार राउत, रुद्रसेन विश्वकर्मा, जीवनस्पर्शी, अग्नि कवच, नारायण घिमिरे, यशोदा श्रेष्ठ, सुदर्शन भट्टराई, विश्वास अभियान तथा विपुल विद्रोहीलगायत रहेका थिए।

कार्यक्रममा बोल्दै अतिथि भिमकुमार राउतले शहीदले देखाएको मार्गमा राज्य संयन्त्र कमजोर देखिएको उल्लेख गर्दै नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। त्यसैगरी प्रलेस मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, जीवनस्पर्शी र प्रेम घिमिरेले आजको बदलिँदो सामाजिक-राजनीतिक परिवेशमा शहीदप्रतिको सम्मान कर्ममा रूपान्तरण हुनुपर्ने आवश्यकता औँल्याए।

प्रमुख अतिथि शशिकला दाहालले प्रलेस महोत्तरीले आफ्नो स्थापना दिवसलाई शहीद स्मृतिसँग जोड्दै मनाउन थालेकोमा सन्तोष व्यक्त गर्दै २०६२ साल माघ १६ गते तदर्थ समिति गठन भई सुरु भएको संस्थाले २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको सन्दर्भ ऐतिहासिक भएको बताइन्। यस्ता कार्यक्रमहरूले भावी पुस्तालाई चेतनशील बनाउँदै निरन्तरता पाउने विश्वाससमेत उनले व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही) ले २१औँ स्थापना दिवस तथा ८६औँ शहीद स्मृति दिवस कार्यक्रम सफल बनाउन योगदान गर्ने प्रमुख अतिथि शशिकला दाहालसहित सम्पूर्ण अतिथि, साहित्यिक व्यक्तित्व, सहभागी तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे। साथै कार्यक्रमका लागि स्थल उपलब्ध गराएको श्री जनता माध्यमिक विद्यालय गौरीडाँडा परिवारलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको