१६ माघ, काठमाडौं। चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बस आज बिहान करिब ३ बजेर १० मिनेटको समयमा दुर्घटनामा परेको हो। लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर तथा मुग्लिनका विभिन्न अस्पतालमा पठाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ।
बस पल्टिएपछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आइसकेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









