१४ माघ, रौतहट। सीमावर्ती क्षेत्रबाट नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई चेकजाँचका क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये भारतको सितामढी पर्सौनीका अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र सितामढी सिभवर परिषद-४ का अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिए।
उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ५०० दरको १ थान र २०० दरका १० थान गरी भारतीय रुपैयाँ २,५०० बराबरका नक्कली जस्तो देखिने नोट फेला परेका छन्।
त्यसैगरी सक्कली भारतीय रुपैयाँ १७७, मोटरसाइकल तथा दुई थान एन्ड्रोइड मोबाइल पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका दुवैजनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।









