५ माघ, सिरहा। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश विरोधी सोच, व्यवहार र गतिविधिहरू विरुद्ध मधेश अब संगठित र सशक्त रूपमा प्रतिकारमा उत्रिने चेतावनी दिनुभएको छ। उहाँले मधेशका अधिकार, पहिचान र सम्मानमाथि भइरहेको आक्रमण अब सह्य नहुने स्पष्ट पार्नुभयो।
लहानमा मधेश आन्दोलनका सहिदहरूप्रति माल्यार्पणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. राउतले मधेशी जनतालाई कमजोर ठान्ने, दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गर्ने र राजनीतिक रूपमा पछाडि धकेल्ने प्रयास अझै जारी रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मधेश केवल भूगोल मात्र होइन, यो संघर्ष, स्वाभिमान र अधिकारको प्रतीक हो।”
डा. राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियत संघीयताप्रति ठीक नरहेको आरोप लगाउँदै संघीयता र प्रदेशसभा नै चाहिँदैन भन्ने सोच बोकेकाहरूलाई मधेशी जनताले कहिल्यै नपत्याउने टिप्पणी गर्नुभयो। “प्रदेशसभा जलाउने, संघीयता खारेज गर्न खोज्ने प्रवृत्तिलाई मधेशले सशक्त प्रतिकार गर्छ,” उहाँले भन्नुभयो।
उहाँले आफूलाई कहिल्यै मधेशी नभन्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ‘मधेशपुत्र’ का रूपमा प्रस्तुत गर्दै रास्वपाले मधेशको भोट बटुल्ने नीति अख्तियार गरेको आरोप समेत लगाउनुभयो। मधेशी जनताको बलिदानीबाट प्राप्त संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको उहाँको दाबी थियो।
डा. राउतका अनुसार राष्ट्रिय राजनीतिमा मधेशको मत निर्णायक छ। “मधेशको भोट प्रयोग गरेर ठूलो शक्ति बन्ने र पछि संघीयता समाप्त पार्ने षड्यन्त्र सफल हुन दिइने छैन,” उहाँले स्पष्ट पार्नुभयो।
उहाँले मधेशका युवाहरू, किसान, मजदुर र महिलाहरू अब आफ्नो हकअधिकारका लागि सचेत र संगठित बन्दै गएको उल्लेख गर्दै मधेशमाथि अन्याय भयो भने चुप लागेर नबस्ने चेतावनी दिनुभयो। शान्तिपूर्ण र लोकतान्त्रिक संघर्षलाई प्राथमिकता दिँदै उहाँले अधिकारको लडाइँमा सक्रिय सहभागिताका लागि मधेशी जनतालाई आह्वान गर्नुभयो।









