१७ पुस, सुनसरी। सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।
कोशी गाउँपालिका-१ लौकहीस्थित सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक बुधबार राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दै पूर्व-पश्चिम राजमार्गअन्तर्गत लौकही क्षेत्रमा सडक अवरुद्ध गरेका छन्।
सशस्त्र प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेका छन्। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले छानबिन समितिले घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्ने जानकारी दिए।
मृतक विजय साह कोशी गाउँपालिका-१ का बासिन्दा तथा सिटी सफारी चालक थिए। सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार भारतबाट तीनवटा अटो र एक सिटी सफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो। सोही क्रममा आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको उनले बताए।
एसपी थापाले तस्कर समूहले पहिले गोली चलाएपछि पोस्टमा तैनाथ सशस्त्र प्रहरी आफ्नो ज्यान जोगाउन बाध्य भएर गोली चलाएको दाबी गरे। तर स्थानीयले निर्दोष नागरिकको हत्या गरिएको आरोप लगाउँदै विरोध जनाएका छन्। स्थानीयको अवरोधका कारण पूर्व-पश्चिम राजमार्ग अझै खुलेको छैन।
सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन्। यातायात व्यवसायी गोपाल बरालले लामो समयदेखि सडक बन्द रहँदा यात्रु र व्यवसायी दुवै मारमा परेको बताएका छन्।



















