१५ पुस, काठमाडौं। बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन्।
मौसमविद विनोद पोखरेलका अनुसार मंगलबार रातिदेखि नै पश्चिमी वायुको प्रभाव नेपालमा क्रमशः विस्तार हुँदै जानेछ। यसको प्रभावले हाल तराई क्षेत्रमा लागेको हुस्सु हट्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
सामाजिक सञ्जालमार्फत् उनले जानकारी दिँदै हुस्सु लागे पनि दिउँसोतिर हट्ने सम्भावना रहेको बताएका छन्।
यसपटक पश्चिमी वायुको प्रभाव मुख्यतया हिमाली क्षेत्रमा देखिने र त्यहाँ हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद पोखरेलले जनाएका छन्।
त्यस्तै काठमाडौं उपत्यकासहित पहाडी भेगमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसममा आएको यस परिवर्तनले चिसोबाट केही राहत मिल्ने अनुमान गरिएको छ।









