१० पुस, बर्दिवास। महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ को वडा कार्यालय बुधबारदेखि औपचारिक रूपमा आफ्नै भवनबाट सञ्चालनमा आएको छ। बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले विधिवत रूपमा भवनको उद्घाटन गरेपछि कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले स्थानीय सरकारको दोस्रो कार्यकालमा वडा कार्यालयहरूलाई व्यवस्थित र सुविधासम्पन्न बनाउँदै आफ्नै प्रशासनिक भवनमा सञ्चालन गर्ने लक्ष्यअनुसार यो कार्य सम्पन्न भएको बताए। उनले वडा कार्यालयबाट प्रदान गरिने सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा मन्तव्य राख्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले नगरपालिकाका सबै वडा कार्यालयहरू आफ्नै भवनमा सञ्चालनमा आइसकेकोमा खुशी व्यक्त गरे। यसले सेवा प्रवाहलाई सहज बनाउनुका साथै स्थानीय सरकारको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्काले नगरपालिकाको बजेटबाट निर्माण भएको नयाँ भवनबाट सेवा दिन पाउनुलाई महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसका लागि नगर प्रमुखसहित सम्पूर्ण नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा सेवाग्राहीलाई थप सुविधा र सम्मानका साथ सेवा दिन सकिने विश्वास व्यक्त गरे।
देउराली माध्यमिक विद्यालयको चार कठ्ठा जग्गामा करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस वडा कार्यालय भवनबाट अब जन्म, मृत्यु, बसाइँसराइ तथा विवाह दर्ता, विभिन्न सिफारिस सेवा, सामाजिक सुरक्षा सम्बन्धी कामकाजलगायत नियमित सेवा सञ्चालन गरिनेछ। साथै, आधारभूत स्वास्थ्य केन्द्रका सेवाहरू समेत यही भवनबाट प्रदान गरिने जनाइएको छ।
नयाँ भवनबाट सेवा सुरु भएसँगै वडा नम्बर १ का स्थानीयवासीहरूले अब व्यवस्थित वातावरणमा छिटो, सहज र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।









