९ पुस, बर्दिवास। इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको चार दशकपछि आफ्नै जग्गा प्राप्त गरेको छ। तत्कालीन प्रहरी महानिरीक्षक स्व. दिलबहादुर लामाले २०४२ सालमा उद्घाटन गरेको यस कार्यालयले लामो समयपछि जग्गाको औपचारिक भोगाधिकार पाएको हो।
आफ्नै जग्गा नहुँदा प्रशासनिक कार्य सञ्चालनमा समस्या भोग्दै आएको प्रहरी कार्यालयले अब भवन निर्माण गर्न सक्ने अवस्था बनेको छ। यसअघि वन क्षेत्र रहेको दाबी गर्दै वन कार्यालयले कुनै पनि संरचना निर्माण गर्न नदिँदै आएको थियो। तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग मालपोत कार्यालय बर्दिबासले आज औपचारिक रूपमा जग्गा उपयोगको प्रमाणपत्र प्रदान गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमले लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको जग्गा भोगाधिकार प्रक्रिया आफू आएपछि प्राथमिकतामा राखेको बताए। “सर्वपक्षीय सहयोगका कारण आज सफलता मिलेको छ। अब कार्यालय सञ्चालनमा देखिएको असहजता हट्नेछ भन्नेमा म आशावादी छु,” उनले भने।
मालपोत कार्यालय बर्दिवासका प्रमुख रमेशप्रसाद गौतमका अनुसार इलाका प्रहरी कार्यालय बर्दिवासले १ बिगहा ६ कठ्ठा ७ धुर जग्गाको भोगाधिकार प्राप्त गरेको हो। जग्गा उपयोगको प्रमाणपत्र प्रदान गर्दा मालपोत कार्यालयले ६ बुँदे सर्तसमेत राखेको छ।
सर्तहरूमा जग्गा अतिक्रमण हुन नदिन संरक्षण गर्नुपर्ने, नाफामूलक वा व्यावसायिक प्रयोजनका लागि भाडामा दिन नपाइने, उद्देश्यअनुरूप प्रयोग नगरे नेपाल सरकारले फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। साथै, नेपाल सरकारलाई आवश्यक परे आंशिक वा पूर्ण रूपमा फिर्ता गर्नुपर्ने, तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वमा असर नपर्ने गरी उपयोग गर्नुपर्ने सर्तसमेत समावेश छन्।
सर्तहरू स्वीकार गर्दै कार्यालय प्रमुख बमले प्रमाणपत्र ग्रहण गरेपछि भवन निर्माण तथा प्रशासनिक कार्य सञ्चालनको ढोका खुलेको प्रतिक्रिया दिएका छन्।
कानुनी प्रावधानका कारण लामो समयसम्म निर्धक्क रूपमा जग्गा उपयोग गर्न नसकेको प्रहरी कार्यालयले अब ४० वर्षदेखिको अप्ठ्यारोबाट मुक्ति पाएको स्थानीय पोषण थापाले बताए।











