५ पुस, जनकपुरधाम। मधेश प्रदेशमा रिक्त रहेको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद राम अशिष यादवलाई उम्मेदवार बनाउने विषयमा सातदलीय गठबन्धनबीच सहमति भएको छ।
आज बिहान बसेको सातदलीय गठबन्धनको बैठकले यादवलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जसपाका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवले जानकारी दिए।
सभामुखका लागि उम्मेदवार बनाइएका यादव जसपा नेपालका प्रमुख सचेतकसमेत हुन्। मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज नै मनोनयन दर्ताको कार्यतालिका रहेको छ।
राम अशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर-२ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्। यसअघि गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेको थियो।









