जनता साहित्यिक मञ्च गौरीडाँडाको १९औँ शृङ्खला सम्पन्न


बर्दिबास, महोत्तरी। जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबास महोत्तरीको नियमित १९औँ शृङ्खला यही मिति २०८२ साल पुस ४ गते शुक्रबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष शुभेच्छा घिमिरेको अध्यक्षतामा तथा जनता माध्यमिक विद्यालय गौरीडाँडाका सहायक प्रधानाध्यापक सरिता कार्कीको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको सञ्चालन मञ्चकी सचिव श्रेया कर्णले गरेकी थिइन् भने उपाध्यक्ष स्मृति पराजुलीले उपस्थित विशिष्ट अतिथि, अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्यद्वारा अभिवादन गरेकी थिइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथिहरूमा जनता माध्यमिक विद्यालय गौरीडाँडाका लेखा कर्मचारी प्रविण पौडेल, शिक्षक मञ्जु कार्की र शिक्षक रामचन्द्र पौडेल रहेका थिए । अतिथि मञ्जु कार्कीले बाल्यकालका अनुभव स्मरण गर्दै हाल विद्यार्थी भाइबहिनीले पाएको अवसरलाई सदुपयोग गर्न आग्रह गरिन् । उनले ‘चराको विलाप’ कविता वाचन गर्दै साहित्यप्रतिको भावनात्मक अभिव्यक्ति प्रस्तुत गरिन् ।

त्यसैगरी अतिथि रामचन्द्र पौडेलले विद्यार्थीहरूको सिर्जनात्मक लेखन तथा वाचन क्षमताको विकासमा मञ्चले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसलाई सबैको साझा मञ्चका रूपमा लिनुपर्ने धारणा राखे । उनले छन्दमा आधारित कविता वाचन गर्दै लयबोध गराएका थिए ।

विशिष्ट अतिथि सरिता कार्कीले मञ्च स्थापना भएपछिका दिनमा विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि उल्लेखनीय रूपमा बढेको बताउँदै आगामी दिनमा यस मञ्चले अझै व्यापक रूप लिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विभिन्न लयका कविता तथा गीत वाचन गरिएका थिए । वाचन गर्नेहरूमा मदन बराल, निकी महतो, प्रज्वल गौतम, अनुकल्प शर्मा ढकाल, आकृष पोखरेल, रोजिना घिमिरे, प्रणव गौतम, जेनिशा लामा, स्नेहा भण्डारी, रितु साह र स्मृति भण्डारी रहेका थिए ।

सो अवसरमा रितु साह, बालकृष्ण साह, आकाश मण्डल, मुन्द्रिका सिंह, निराजन मण्डललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले कार्यक्रममा सहभागिता जनाउने विशिष्ट अतिथि, अतिथि तथा सम्पूर्ण उपस्थितप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सहयोग र साथको अपेक्षासहित कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको