लालबन्दी-बर्दिबास जंगल क्षेत्रमा अब मोबाइल नेटवर्क समस्या हट्यो


२ पुस, बर्दिबास। पूर्व-पश्चिम राजमार्गको लालबन्दी-बर्दिबास सडकखण्डअन्तर्गत पर्ने जंगल क्षेत्रमा यात्रा गर्ने यात्रुले अब मोबाइल नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील मानिएको यो खण्डको करिब ८ किलोमिटर क्षेत्रमा निर्बाध दूरसञ्चार सेवा उपलब्ध गराएको हो।

दैनिक हजारौं यात्रु पूर्व-पश्चिम राजमार्ग हुँदै देशको पूर्व-पश्चिम आवतजावत गर्छन्। तर, वन तथा जंगल क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो, करिब २१ किलोमिटर दूरीको यस सडकखण्डमा लामो समयदेखि मोबाइल नेटवर्क कमजोर हुँदै आएको थियो।

सामान्यतया राजमार्ग र वन क्षेत्रमा विद्युत् आपूर्ति तथा टावर व्यवस्थापनको चुनौतीका कारण नेटवर्क नआउने समस्या रहँदै आएको थियो। एनसेलले सेवा विस्तार गरेसँगै यात्रुका साथै आसपासका स्थानीय बासिन्दा पनि सहज सञ्चार सुविधाबाट लाभान्वित भएका छन्।

नेटवर्कको समस्या हटेपछि जंगल क्षेत्र हुँदै यात्रा गर्दा अब आफूहरू सुरक्षित महसुस गर्न थालेको यात्रुहरूको भनाइ छ। पूर्व-पश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको दीर्घकालीन सुनिश्चितताका लागि थप स्थानमा टावर जडान गरी सञ्चालन गर्ने सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ।

वन क्षेत्रमा तत्काल नयाँ टावर स्थापना गर्न कठिनाइ रहेकाले एनसेलले गढन्ता र लक्ष्मीनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिमा आधारित नेटवर्क सोलुसन प्रयोगमार्फत सेवा उपलब्ध गराएको जनाएको छ।

यात्रु सुरक्षाका दृष्टिले संवेदनशील यस सडकखण्डमा सेवा सञ्चालन गर्न डिभिजन वन कार्यालय महोत्तरी, गढन्ता सब-डिभिजन वन कार्यालय तथा बाँके सब-डिभिजन वन कार्यालयले आवश्यक सहयोग र सहजीकरण गरेको एनसेलले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको