बर्दिवास-१२ मा बालिकामाथि जबरजस्ती करणी : घटना गाउँमै मिलाउन धम्की र पैसाको प्रलोभन, आरोपित पक्राउ


महोत्तरी। बर्दिवास नगरपालिका-१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक सातापछि सार्वजनिक भएको छ। गाउँमै मिलापत्र गराउने प्रयास भइरहेका बेला प्रहरीले आरोपितलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

पीडित बालिकाका अनुसार गत शुक्रबार विद्यालयबाट घर फर्केर खेतमा काम गर्न गएकी उनलाई छिमेकी राजेन्द्र महतोले ‘म तिमीलाई माया गर्छु, पैसा दिन्छु’ भन्दै जबरजस्ती करणी गरेका थिए। घटनाका बेला खेतमा मल लिएर पुगेकी आमाले छोरीको रोएको आवाज सुनेपछि हेर्न जाँदा आरोपित महतो फरार भएका थिए।

पीडितकी आमाका अनुसार घटनाको विषयमा बाहिर बताए सबैको इज्जत जाने र हल्ला गरेमा ज्यान मारिदिने धम्की दिँदै आरोपित पक्षका मानिसहरू सोही रात घरमै आएका थिए। उनले पटक–पटक प्रहरीसमक्ष जाहेरी दिन खोज्दा पनि ‘गइस् भने ज्यान लिन्छु’ भन्ने धम्कीका कारण डराएर बस्नुपरेको बताइन्। घटना मिलाउन ६ लाख रुपैयाँ दिने प्रस्ताव गर्दै बाटो छेकेर छलफलमा बोलाइने र दबाब दिइने गरेको पनि पीडित पक्षको भनाइ छ।

बिहीबार दिउँसो करिब २०-२५ जनाले पीडित परिवारलाई घेरेर सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले आरोपित राजेन्द्र महतोलाई पक्राउ गरेको हो। पक्राउपछि पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको महोत्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार पीडितलाई दबाब दिँदै मिलापत्र गराउने प्रयास भइरहेको सूचनाका आधारमा महतोलाई पक्राउ गरिएको हो। उनले पक्राउ परेका महतोलाई स्वास्थ्य जाँच गरिसकिएको र रिपोर्ट आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने बताए।

यसैबीच, घटना गाउँमै मिलाउन बर्दिवास-१३ का वडाध्यक्ष लक्ष्मण सिंह तथा केही स्थानीय भद्रभलाद्मीको संलग्नता रहेको पीडित पक्षले आरोप लगाएको छ। वडाध्यक्ष सिंहले भने आफू घटनामा संलग्न नभएको र कुनै जानकारीसमेत नभएको दाबी गरेका छन्। सिंह बिहीबार महतो पक्राउसँगै प्रहरी कार्यालय पुगेका थिए तर उनले अन्य कामका लागि पुगेको बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको