जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीय रूपमा रहेका तीन मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका यादवले गत २४ कात्तिकमा बर्दिबासस्थित पानस होटलमा शपथग्रहण गरेका थिए। शपथपछि उनले तीन जना मन्त्री नियुक्त गरे पनि ती सबै विनाविभागीय रहेको स्थिति आज अन्त्य भएको हो।
नेकपा (एमाले) को तर्फबाट मन्त्री बनेका लखन दासलाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय तोकिएको छ।
त्यसैगरी राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको नेतृत्व दिने निर्णय गरिएको छ।
यसअघि सर्वोच्च अदालतले २ मंसिरमा मुख्यमन्त्री यादवलाई नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त आदेश कायम रहने अदालतले स्पष्ट पारेको थियो।
(विज्ञप्ति संलग्न)










