जनकपुर। मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मितामाथि चोट पुर्याएको आरोप लगाएका छन् । उनले प्रदेश प्रमुखले मधेसका जनतासँग धोका गरेको दाबी गरेका हुन्।
स्वास्थ्य उपचारका लागि काठमाडौँ जाँदै गरेको अवस्थामा प्रदेश प्रमुख भण्डारीले सोमबार सिन्धुलीस्थित एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन् । संविधानको धारा १६८(३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसप्रति असन्तुष्टि जनाउँदै पूर्वमुख्यमन्त्री सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा यात्रा प्रारम्भ गरेकी प्रदेश प्रमुखले बिचैको बाटोमा सिन्धुली–महोत्तरी सिमानाको एक होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने कार्य गरिन्। एक त महिला, अर्को स्वास्थ्यको कुरा-तर खेल त्यहीँ गरियो।”
केही दिनअघि विश्वासको मत प्राप्त गर्न असफल भएपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलको आरोप छ-प्रदेश प्रमुख भण्डारी अस्वस्थताको कारण देखाउँदै जनकपुरबाट काठमाडौँ निस्किएकी थिइन्, तर उनले यात्रा बिचमै थामेर यादवलाई शपथ गराएको घटनाले राजनीतिक प्रश्न खडा गरेको छ।









