जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
सोनलले आज विश्वासको मतका लागि समय मागेका थिए । तर आवश्यक समर्थन जुट्न नसक्ने परिस्थिति देखिएपछि सदनमै राजीनामा घोषणा गर्दै उनले आजै प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाउने बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई गत असोज २९ गते प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । तर, जनस्वाराज पार्टीमा सनाखत भएका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह तथा सांसद त्रिभुवन शाह बैठकमा अनुपस्थित रहेपछि मत गणनामा प्रभाव परेको थियो ।
मधेश प्रदेशमा लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सिट छन् । नागरिक उन्मुक्ति पार्टीले सोनललाई विश्वासको मत दिने निर्णय गरे पनि संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी बैठकमा अनुपस्थित थिइन् ।
यता, माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला राईले सदनमै विद्रोही भूमिका लिएपछि सोनलको बहुमत सुरक्षित हुने आधार कमजोर हुँदै गएको थियो । सो स्थिति देखिएपछि उनले बैठकमै राजीनामा घोषणा गरेका हुन् ।
स्रोत: Onlinekhabar.com









