२४ असोज, सप्तरी – चन्दन रजक। सप्तरीको रुपनी गाउँपालिका–१ रुपनी बजारमा बिहीबार राति भएको भीषण आगलागीमा ४ परिवारका ७ घर जलेर नष्ट भएका छन्। आगलागीबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीयवासी सुनिल कुमार यादवको घरमा बिजुलीको तार सर्ट भई राति करिब ९:४५ बजे आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीले घरसहितका अति आवश्यक कागजात, गरगहना, लत्ताकपडा, खाद्यान्न, फर्निचर र पशुधन गरी करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
आगलागीबाट प्रभावित हुनेहरूमा सुनिल कुमार यादव, श्यामसुन्दर यादव, ललित यादव र पार्वती यादव रहेका छन्। सुनिल यादवको गोठबाट सुरु भएको आगो छोटो समयमा अन्य घरमा समेत फैलिएको स्थानीयले बताएका छन्।
आगो नियन्त्रणका लागि कञ्चनरुप नगरपालिकाको वारुण यन्त्र, राजविराजस्थित बारुण गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए। दुई घण्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
क्षतिको विवरणअनुसार ललित यादवको दुईवटा घर, सुन–चाँदीका गहना र फर्निचरलगायत गरी करिब ७ लाख, सुनिल यादवको दुईवटा घर र सामान गरी १५ लाख, श्यामसुन्दर यादवको घर, नगद, गहना र लत्ताकपडा गरी १५ लाख र पार्वती यादवको घर र सामान गरी ९ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
घटनामा सुनिल यादवको एक बाख्रा र एक बोका जलेर मरेका छन् भने ललित यादवको गाई र भैंसी सामान्य घाइते भएका छन्। चौपाया बचाउने क्रममा श्यामसुन्दर यादव घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि मधेस प्रदेश प्रहरी अस्पताल रुपनीमा भर्ना गरिएको छ। डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार उनको शरीरको करिब १० प्रतिशत भाग जलेको भए पनि अवस्था सामान्य छ।
इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायब निरीक्षक तुलसी यादवका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
उक्त घटनाप्रति गृह मन्त्रालयले पनि राति नै चासो देखाएको र घाइतेको उपचार तथा राहत व्यवस्थापनका लागि स्थानीय सरकारसँग आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन्।












