बर्दिवास – सिन्धुली सडकखण्ड हुँदै आउँदा सडकको छेउमा पर्खाल नभएको, केवल पिलर ठड्याइएको एउटा अपूर्ण घर देखिन्छ। वर्षौंदेखि बेवारिसेझैं देखिने उक्त घर वरिपरि झारपातले ढाकेको छ भने भित्रपट्टि इँटा थुपारिएका छन्। पिलरहरूमा लेउ पलाइसकेका छन्। सात वर्षअघि निर्माण थालिएको तर बीचमै रोकिएको यो घरले अनेक प्रश्न खडा गर्छ – किन यस्तो भयो? कसको हो?
यो कथा सामान्य होइन, भू-माफियाको षड्यन्त्रमा परेको एक पीडित परिवारको सपना टुटेको गाथा हो। महोत्तरीको गौरीडाँडाकी मञ्जु खड्काले २०६८ सालमा चिनेजानेका विष्णु कार्कीमार्फत सिन्धुली रोड नजिकै २ कठ्ठा जग्गा किनिन्। सुन, गरगहना बेचेर पैसा जुटाएकी खड्काले कार्की र ललित सुनुवारको सिफारिसमा उक्त जग्गा किनेकी थिइन्। तर, अन्तिम चरणमा सुधिर लामा नाम गरेका व्यक्तिले आफ्नो जग्गा भएको दाबी गरेपछि उनी अलमलमा परिन्।
सुधिरको परिवारसँग सम्झौता गरी खड्काले जग्गा आफ्नो नाममा दर्ता गरिन्। त्यसपछि पक्की घर बनाउन थाल्दा पनि दलालहरूको षड्यन्त्र रोकेन। स्थानीय दीर्घराज श्रेष्ठका आफन्तहरूले आएर पिलर डोजर लगाएर भत्काइदिए। ‘मेरो पक्षमा कोही बोलिदिने भएन,’ खड्काले दुखेसो पोखिन्।
यसरी एउटै जग्गामा तीन – तीनजना जग्गाधनी खडा भएपछि खड्का न्यायका लागि निरन्तर संघर्षरत छिन्। स्थानीयहरूको भनाइमा दीर्घराज श्रेष्ठ पनि सोही जग्गाको खरिदकर्ता भएकाले उनी पनि पीडित नै हुन्। कागजअनुसार २ कठ्ठा जमिन टुक्र्याएर फरक–फरक व्यक्तिका नाममा बिक्री भएको तथ्य देखिन्छ। तर, दलालहरूले जालसाजी गरी एउटै जमिन दुई – तीन पटक बेच्दा आज विवाद चरममा पुगेको हो।
पूर्व नगरप्रमुख बिदुर कार्की भन्छन्, ‘खडकालाई २ कठ्ठा जमिन भएको भनेर कागज बनाउने सबै दोषी हुन्। वडाबाट सिफारिस दिने बेलामा पनि गम्भीर विचार गर्नुपर्ने थियो।’
खड्कासँग अहिले ललित सुनुवार र सुधिर लामाले बनाएको दुईवटा कागज सुरक्षित छन्। तर दीर्घराज श्रेष्ठले पनि सोही जग्गामा दाबी गरेका छन्। हाल भूमि आयोगले लागत संकलनका लागि ३५ दिने सूचना जारी गरेको भए पनि वडाले विवादित भनेर सिफारिस गर्न अस्वीकार गरेको खड्काको भनाइ छ।
उक्त बेवारिसे देखिने घर केवल अपूर्ण संरचना मात्र होइन, भू–माफियाले रचेको षड्यन्त्र र न्यायको खोजीमा एक महिलाको वर्षौंको संघर्षको प्रतीक बनेको छ।









