२६ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’लाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएर पुनः कैद भुक्तानका लागि कारागार पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई प्रदर्शनकै क्रममा निकालिएपछि त्यही अवसरमा टक्लासहित अन्य कैदीहरू फरार भएका थिए। उनीहरूले कारागारभित्र आगजनीसमेत गरेका थिए।
१२ वर्षदेखि कारागारमा रहेका पूर्वराज्यमन्त्री साह जन्मकैदको सजाय भोगिरहेका थिए। १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको वम विस्फोटमा पाँच जनाको ज्यान गएको घटनामा उनलाई अदालतले मुख्य योजनाकार ठहर गरेको थियो। त्यस्तै, जनकपुरकै सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा पनि उनीलाई योजनाकारका रूपमा अदालतले दोषी ठहर गरेको थियो।









