नागढुङ्गा सुरुङमार्गको ९४.५ प्रतिशत काम सम्पन्न, तिहारपछि सञ्चालनमा आउने सम्भावना


काठमाडौँ – संघीय राजधानी काठमाडौँको पश्चिमी मुख्य प्रवेशद्वार नागढुङ्गाको जोखिमयुक्त र लामो नागबेली घुम्तीलाई विस्थापित गर्नेगरी निर्माण भइरहेको सुरुङमार्गको ९४.५ प्रतिशत काम सम्पन्न भएको छ। निर्माण समयतालिका अनुसार असोजभित्र बाँकी काम पूरा भए तिहारपछि यही सुरुङमार्गमार्फत यात्रा गर्न सकिने विभागले जनाएको छ।

जापानी ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको यो सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो। विभागका अनुसार भौतिक प्रगति ९४.५ प्रतिशत पुगेको छ र अन्तिम चरणका काम तीव्र गतिमा भइरहेको छ। निर्माण सकिएपछि आवश्यक परीक्षण तथा ट्रायल सम्पन्न गरी सर्वसाधारणका लागि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जानकारी दिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीसाधनबाट उपभोग दस्तुर सङ्कलन गरी भविष्यमा मर्मत–सम्भार र दिगो सञ्चालनका लागि स्रोत व्यवस्थापन गर्ने सरकारी योजना छ। यसअघि साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर स्वीकृत गरिसकेको थियो।

दस्तुर सङ्कलनका लागि विद्युतीय प्रणाली जडान भइसकेको छ। यसमार्फत् सवारीसाधनमा टाँसिने बैंक खातासँग आवद्ध आरएफआइडी ट्याग प्रयोग गरी सोझै टोल भुक्तानी गर्न सकिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको