जनकपुरधाम – मधेश प्रदेशका पर्यटनमन्त्री इञ्जि. बसन्त कुशवाहाले नेपाल–भारत सीमा नाकामा भारतीय रुपैयाँ (भारु) सटही काउण्टरको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्य जनकपुरधाम भिठामोड नाका हुँदै दैनिक हजारौँ संख्यामा पर्यटक प्रवेश गर्ने गरेका छन्। तर, नाकास्थित प्रभु बैंकको शाखाले भारतीय रुपैयाँ नलिने गरेको गुनासो पर्यटकहरूबाट आएपछि मन्त्री कुशवाहाले बैंकलाई पत्राचार गर्दै तत्काल समाधान गर्न निर्देशन दिएका हुन्।
मन्त्री कुशवाहाले स्थलगत निरीक्षणका क्रममा पर्यटकहरूले सेवामा भोगिरहेको असुविधा सरोकारवालाको ध्यानाकर्षण गराउँदै, बैंककै काउण्टरबाटै भारतीय रुपैयाँ सटहीको व्यवस्था मिलाउन आग्रह गरेका हुन्। हाल यात्रुहरूले सटहीका लागि करिब १ किलोमिटर टाढा रहेको मनी एक्सचेन्जमा जानुपर्ने बाध्यता रहेको गुनासो गरिएको छ।
साथै, अनलाइन भुक्तानीलाई सहज बनाउन डिजिटल वालेट, क्यूआर कोड तथा बैंक खाता विवरण सार्वजनिक रूपमा राख्नुपर्ने सुझाव दिइएको छ। बैंक काउण्टरमा बैंकको नाम, सम्पर्क व्यक्तिको फोन नम्बर र केन्द्रीय कल सेन्टरको सम्पर्क नम्बर स्पष्ट देखिने गरी राख्नुपर्ने, साथै कर्मचारीहरूले अनिवार्य रूपमा औपचारिक पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ।
स्थानीय व्यवसायी र यात्रुहरूले नाकास्थित बैंक सेवामा सुधार भए पर्यटकहरूलाई सहज र पारदर्शी सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।









