बर्दिवास, भदौ ८ ।
बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान महोत्तरीले आफ्नो ७३औँ नियमित शृङ्खला तथा कृतिशेष युवाकवि मोतीराम भट्टको १६०औँ जयन्ती कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा तथा शिक्षा तथा साहित्यप्रेमी राजन प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
जनता मा.वि. गौरीडाँडामा आयोजित कार्यक्रममा जनता साहित्यिक मञ्च गौरीडाँडा तल्लो सदन सहआयोजक रहेको थियो । सहआयोजक मञ्चका अध्यक्ष शुभेच्छा घिमिरे र सचिव श्रेया कर्णले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालका केन्द्रीय सदस्य विमला वि.क., मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य सङ्घ अध्यक्ष विष्णु खड्का, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान अध्यक्ष प्रेम घिमिरे, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी अध्यक्ष गुञ्ज बहादुर कार्की, जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष मो. कमरुदिन नदाफ, बुढ्यौली समाज धनुषा अध्यक्ष नानीराम दाहालसहित विभिन्न साहित्यिक, सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कविता, गीत, गजल, कथा लगायतका विविध सिर्जना श्रेया कर्ण, शुभेच्छा घिमिरे, प्रतिमा पौडेल, राजेश भण्डारी, जीवनस्पर्शी, नारायण घिमिरे, विमला वि.क.लगायतका साहित्यकार तथा सिर्जनाकारहरूले प्रस्तुत गरेका थिए ।
राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले प्रतिष्ठानको संक्षिप्त परिचय दिएका थिए भने सहआयोजक मञ्चका सचिव श्रेया कर्णले संस्थाका गतिविधि बारे जानकारी गराएकी थिइन् । संगीत प्रशिक्षक सुधाकर झा लगायतको प्रस्तुतिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले प्रतिष्ठानका नियमित शृङ्खलाहरूले नयाँ प्रतिभा परिचयमा ल्याउन र साहित्यिक वातावरण सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए । प्रमुख अतिथि राजन प्रसाद ढुङ्गानाले प्रतिष्ठान स्थापना कालदेखि नै निरन्तर कार्यक्रम गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै मोतीराम भट्ट स्मरणमा गरिएको यो विशेष शृङ्खला समयानुकूल रहेको बताए ।
अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै ७३औँ शृङ्खला तथा १६०औँ मोति जयन्ती कार्यक्रम समापन गरेका थिए ।











