३० साउन, बर्दिवास — ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को ११ औं वार्षिकोत्सव समारोह आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत शुक्रबार होटल विनायक, बर्दिबासमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संचालन तथा सुपरिवेक्षण कार्यलय जनकपुरका प्रमुख रमेश कुमार श्रेष्ठले गर्नुभयो भने प्रमुख अतिथि प्रधान कार्यालय बुटवलका मुख्य प्रबन्धक पिताम्बर नेपाल थिए।
कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर प्रमुख अतिथि पिताम्बर नेपालले गर्नुभयो। प्रारम्भिक चरणमा आयोजित रक्तदान कार्यक्रममा १९ जना कर्मचारीहरूले रक्तदान गरे।

दोस्रो चरणमा ४३ शाखा कार्यालयका उत्कृष्ट महिला सदस्यलाई नगद रु. १० हजार र प्रशंसा पत्र प्रदान गरियो।

सिमरा शाखाकी पुनमदेवी महतोले विगत २२ वर्षदेखि सानो कर्जाबाट सुरु गरी रु. ७ लाखसम्मको कर्जा लिई सफल उद्यमी बन्ने अनुभव सुनाउँदै सहकर्मी महिलालाई सही परियोजनामा लगानी गर्न आग्रह गरिन्।
जोरपाटी शाखाकी प्रेरणा कोलले संस्थाले आर्थिक रूपमा सहज र सबल बन्न सहयोग गरेको बताइन्।
देउरी प्रवाह शाखाकी बज्रचार्यले संस्थाले तराई क्षेत्रका पिछडिएका महिलालाई साक्षरता र कर्जा सुविधा प्रदान गरेर महिला सशक्तिकरणमा योगदान पुर्याएको उल्लेख गरिन्।
कार्यक्रममा क्रियाशील तीन ट्रेड युनियनका पदाधिकारीहरूले महिला सदस्यको हकहितका विषयमा व्यवस्थापनसँग समय-समयमा सुझाव राख्ने बताएका थिए।
प्रमुख अतिथि पिताम्बर नेपालले संस्थाको वार्षिकोत्सवमा उपस्थित सम्पूर्ण उत्कृष्ट महिला सदस्यहरूलाई स्वागत गर्दै संस्थाका विभिन्न गतिविधिबारे प्रकाश पार्नुभयो।

उहाँले महिला सदस्यहरूलाई कर्जा ग्रहण र यसको सदुपयोगको महत्व, समयमै किस्ता भुक्तानीको आवश्यकता, महिला सशक्तिकरणमा संस्थाको भूमिका, समुदायमा पुग्ने योगदान, बचत गर्ने बानीको विकास तथा विपत्तिका समयमा संस्थाले गर्ने सहयोगबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।
सुपरिवेक्षण कार्यालय जनकपुरका प्रमुख श्रेष्ठले संस्थाका ऋण लगानी, बीमा, बचत परिचालन र स्वरोजगार कार्यक्रमबारे जानकारी दिँदै उत्कृष्ट महिला सदस्यहरूलाई बधाई दिनुभयो।









