मुसहर समुदायका श्रीकुमार सदा: सानो चेक, ठूलो आशा


१३ साउन, बर्दिबास, महोत्तरी —

“एक लाख रुपियाँ? त्यो त सपना जस्तै लाग्थ्यो,” भन्दै थिए श्रीकुमार सदा। मुसहर समुदायमा जन्मिएका उनका लागि यो केवल भावुक भनाइ थिएन—यो यथार्थ थियो। तर अब त्यो सपना झझल्को मात्र होइन, चेकको रूपमा हातमै आइपुगेको छ।

बर्दिबास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका श्रीकुमार सदाले गत असार ७ गते पत्नी सबिना कुमारी सदालाई गुमाए। पेटको समस्याले ३६ वर्षीया सबिनाको निधन भयो। आर्थिक रूपमा कमजोर मुसहर परिवारका लागि त्यो क्षति केवल मानवीय थिएन—गहिरो आर्थिक चोट पनि थियो। त्यसपछि प्राप्त एक लाख रुपियाँको बीमा चेकले श्रीकुमारको आँखामा आँसु ल्यायो—शोकको मात्र होइन, राहत र भरोसाको पनि।

नेपालमै पहिलोपटक मुसहर लक्षित सामूहिक जीवन बीमा कार्यक्रमले यस्तो प्रभाव पार्ला भन्ने सायदै कसैले सोचेको थियो। बर्दिबास नगरपालिकाको अगुवाइमा ‘लिवर्टी लाइफ इन्स्योरेन्स’को साझेदारीमा सञ्चालित योजनाअन्तर्गत बीमा दाबी प्रक्रिया एक महिनाभित्रै सम्पन्न भई श्रीकुमारलाई भुक्तानी दिइएको हो।

नगरप्रमुख प्रह्लादकुमार क्षेत्री र प्रवक्ता विजय कुमार महतोको हातबाट बीमा रकमको चेक लिँदा श्रीकुमार बोल्न सकेनन्। तर बस्तीकी वृद्धा मानकी सदा भावुक हुँदै भन्छिन्, “पहिल्यै यस्ता कुरा हामीले कहाँ देखेका थियौं र? अबका पुस्ताले बुझ्न थाल्नेछन्।”

मुसहर समुदायका लागि ऐतिहासिक बीमा योजना

सामाजिक सूचकांकमा निकै तल देखिने मुसहर समुदायको लागि बर्दिबास नगरपालिकाले २०८० चैतदेखि सुरु गरेको यो बीमा योजना ऐतिहासिक मानिएको छ। १८ देखि ५९ वर्षसम्मका सबै मुसहर नागरिकको तीन वर्षे बीमा प्रिमियम नगरपालिकाले आफैं तिरेर गरेको हो।

लिवर्टी लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रबन्धक रविन्द्र कुमार मिश्रका अनुसार, “बीमा दाबीलाई यथासक्य छिटो प्रक्रिया सम्पन्न गर्न चाहेका थियौं। मुसहर समुदायले बीमालाई कागजमा मात्र नभई व्यवहारमा अनुभव गरुन् भन्ने हाम्रो चाहना थियो।”

बीमासँगै सामाजिक रुपान्तरणको पहल

बर्दिबास नगरपालिकाले बीमासँगै सामाजिक रुपान्तरणतर्फ पनि पहल थालेको छ। नगरप्रमुख क्षेत्रीका अनुसार, २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने मुसहर जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइने योजना लागू गरिएको छ। वडाध्यक्ष विजयकुमार महतोका अनुसार यो योजना २०८० चैत ५ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो।

“बिहेको उमेर र जिम्मेवारीप्रति चेतना दिन पनि यो योजना ल्याइएको हो,” महतोले भने।

चेतनाको उज्यालो फैलिँदै

भङ्गाहा–३ का सिमल सदा भन्छन्, “हाम्रो पछाडि पर्नुको मुख्य कारण अशिक्षा हो। अब यी योजनाले चेतना ल्याउनेछन्।” उनी थप्छन्, “हामीलाई अब शिक्षामा जोड दिन आवश्यक छ। स्थानीय तहको साथ र सक्रियता अत्यावश्यक छ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार महोत्तरी जिल्लामा २७ हजार ३५२ मुसहर समुदायका नागरिक बसोबास गर्छन्। १५ वटै स्थानीय तहमा फैलिएको यो समुदायमा माध्यमिक तहसम्म अध्ययन गर्नेको संख्या अत्यन्त न्यून छ।

आशाको प्रतीक

श्रीकुमार सदा अझै पनि गहिरो शोकमा छन्, तर उनी अब केवल आफ्नै पीडामा सीमित छैनन्—सम्पूर्ण समुदायका लागि उनी आशाको प्रतीक बनेका छन्। बीमा योजनाबाट पहिलोपटक लाभ पाउने व्यक्तिका रूपमा उनी मुसहर समुदायमा बीमाको सम्भावना र उपयोगिता दुवैको जीवित उदाहरण बनेका छन्।

समाजका अति पिछडिएका वर्गलाई आत्मसम्मानसहित अगाडि ल्याउने बर्दिबास नगरपालिकाको यो प्रयासले नीति निर्माणकर्तालाई समेत सोच्न बाध्य बनाएको छ वास्तवमै समावेशी र प्रभावकारी योजना यस्तै हुनुपर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको