१७ असार, ललन मण्डल,महोत्तरी ।
महोत्तरीको बर्दिवास नगरपालिका–१ मा संचालित ‘रोयल ईएसपीए (मसाज सेन्टर)’ मा प्रहरीले अश्लील गतिविधिको आशङ्कामा छापा मारेको छ। सोमबार राति १२ बजेतिर इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास बमको कमाण्डमा खटिएको ९ जनाको टोलीले गस्तीको क्रममा स्थानीय सरोकारवालाहरूको रोहबरमा स्पा सेन्टरमा खानतलासी गरेको हो।
प्रहरीका अनुसार, कानुनी समयसीमा पार गरी राति समेत स्पा सञ्चालित रहेको र त्यहाँ आपत्तिजनक गतिविधि भइरहेको शङ्कामा अनुसन्धान सुरु गरिएको हो।
छापाको क्रममा प्रहरीले स्पा सञ्चालिका र एक सेवाग्राहीलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएकाहरूमा जिल्ला धादिङ, रुबीभ्याली गाउँपालिका–५ की ३१ वर्षीया नाम परिर्वतीत रिना राना मगर र भारत, बिहारस्थित सितामढी जिल्लाका १९ वर्षीय नाम परिर्वतीत सुसिल कुमार साह रहेका छन्।
प्रहरी अनुसार, नियन्त्रणमा लिएका दुबै व्यक्तिहरूले सोधपुछको क्रममा प्रहरीसँग दुर्व्यवहार गर्दै प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको पाइएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ।
उक्त स्पा सेन्टर बर्दिवास बजार क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणतर्फ पर्छ। घटनासम्बन्धी थप विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।



















