२४ बैशाख, काठमाडौं । जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले पछिल्लो समय दक्षिण एशियामा देखा परेका आतंकवादी गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आतंकवादलाई मानवता विरुद्धको अपराधको रूपमा व्याख्या गरेका छन्। उनले कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपाली नागरिकसहित २७ जना निर्दोष मानिसको ज्यान जानु अत्यन्त दुःखद र सभ्य समाजका लागि गम्भीर चुनौती भएको बताएका छन्।
डा. यादवले स्पष्ट रूपमा भनेका छन् कि निर्दोष नागरिकहरूको हत्या कुनै पनि अवस्थामा जायज ठहरिन सक्दैन र यस्ता घटनाहरूलाई राजनीतिक लाभका लागि प्रयोग गर्नु अति निन्दनीय कार्य हो। “मानवताको रक्षा गर्नु आजको प्रमुख आवश्यकता हो। आतंकवादको कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” उनले भने।
उनका अनुसार भारत सरकारले घटनापछि आतंककारीहरू विरुद्ध चालेको कारबाही आवश्यक, न्यायोचित र समयानुकूल कदम हो। उनले यस्तो प्रतिकारले पीडितहरूप्रति न्यायको अनुभूति हुने विश्वास व्यक्त गरेका छन्।
प्रवक्ता यादवले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न दक्षिण एशियाली मुलुकहरूबीच साझा रणनीति र सहयोग अपरिहार्य रहेको धारणा राखे। उनले भने, “शान्ति र सहअस्तित्वलाई प्रोत्साहन गर्नु हामी सबैको साझा जिम्मेवारी हो। आतंकवादको सामूहिक प्रतिरोधले मात्र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ।”
उनको भनाइले नेपालजस्ता शान्तिप्रिय मुलुकका लागि क्षेत्रीय अस्थिरता र आतंकवाद प्रत्यक्ष चुनौती बन्न सक्ने संकेत दिएको छ। उनले कूटनीतिक सक्रियता, मानवीय सुरक्षा र स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको उल्लेख गर्दै नेपालले पनि यस्ता घटनाप्रति गम्भीरता देखाउनुपर्ने बताए।









