२५ चैत , काठमाडौँ – मधेशकेन्द्रित दुई राजनीतिक दल जनमत र नागरिक उन्मुक्ति पार्टी ९नाउपा०बीच एकता हुने पक्का भएको छ। मधेशका प्रमुख तथा पुराना भनिएका दलहरू विभाजित भइरहेका बेला गत आमनिर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएका यी दुई नयाँ दल भने एकताको निष्कर्षमा पुगेका हुन्।
शनिवार राति जनमत पार्टीका अध्यक्ष डा। सिके ९चन्द्रकान्त० राउत र नाउपाका संरक्षक रेशम चौधरीको निर्णायक छलफलपछि दुवै पार्टीद्वारा गठित कार्यदलले आइतबार मुख्य विषय टुङ्गो लगाएको छ।
बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले मुख्य नेताहरूको जिम्मेवारी, पार्टीको नाम र चुनाव चिह्नमा सहमति गरेको हो।
जसअनुसार एकीकृत पार्टीको नाम नागरिक जनमत रहनेछ भने पार्टी अध्यक्ष डा। राउतले गर्नेछन्। रेशम चौधरी एकीकृत पार्टीको संरक्षककै रुपमा रहँदा नाउपाका वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहनेछिन्।
वरीयताक्रमको हिसाबले संरक्षक चौधरी, अध्यक्ष राउत र सहअध्यक्ष श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रोमा रहने जनमतका उपाध्यक्ष अब्दुल खाणले बताए।
नागरिक जनमतको चुनाव चिह्न ढकिया राख्ने सहमति भइसकेको छ। एकीकृत पार्टीको विधान तयार गर्न दुवै दलले विधान प्रतिस्थापन समिति बनाइसकेका छन्। समितिमा नाउपाबाट दामोदर पण्डितको नेतृत्वमा गीता चौधरी र सरोज बुढाथोकी छन् भने जनमतबाट कमल चुडालको संयोजकत्वमा शैलेन्द्र अम्बेडकर र अरबिन्दकुमार सिंह सदस्य छन्।
विधान प्रतिस्थापन समितिले दुवै दलको विधानलाई संयोजन गरेर नयाँ विधान बनाउने छन्। जनमत उपाध्यक्ष खाणका अनुसार दुई पार्टीबीच २०८२ वैशाख १५ मा पार्टी एकीकरणको घोषणा हुनेछ।
यसरी भयो एकता सम्भव
राष्ट्रिय राजनीतिका प्रमुख तथा पुराना वा स–साना क्षेत्रीय, नेपालका अधिकांश राजनीतिक दलहरूको इतिहास जुटभन्दा बेसी टुटफुटले नै भरिएको देखिन्छ। विचार, सिद्धान्त, नीति, विधि र नैतिकताभन्दा आडम्बर र व्यक्तिगत स्वार्थ हुँदा मिले पनि सँगै लामो यात्रा गर्न नसकेका उदाहरण खोज्न धेरै पछाडि फर्कनु पर्दैन।
मधेशकेन्द्रित दलहरूका सन्दर्भ पनि त्यही हो। मधेशी जनताको हकहित र अधिकारका लागि भन्दै जन्मिएका थुप्रै मधेशवादी दलहरू विभाजनभन्दा टाढा रहेनन्। कुनै वेला एक हुने प्रयास गरे पनि छोटो समयमै छिन्नभिन्न भए। फलस्वरुप कतिपय दलको अस्तित्व नै समाप्त भयो भने भएकाहरू संघर्षरत छन्।
यसैबीच जनमत र नाउपा एकताको निष्कर्षमा पुगेका हुन्। २०७९ को आमनिर्वाचनबाट उदाएका उनीहरू एक हुनुलाई आमरुपमै चासोका साथ हेरिएको छ। फुट्ने रोगले अरु दल ग्रस्त भइराख्दा दुई ‘नयाँ’ दलहरूबीच भने एकता पक्का भयो।
एकताको प्रमुख सूत्रका रुपमा देखिन्छ– दुवै पक्षका नेताहरूले एकअर्काका लागि देखाएका उदार भाव। पहिलो प्रयासमै जनमतलाई राष्ट्रिय दल बनाउन सफल भएका डा। राउत दोस्रो वरीयतामा बस्न तयार हुनु, रेशमले अध्यक्ष दावी नगर्नु र नाउपा अध्यक्ष रञ्जिता तेस्रो वरीयता स्वीकार्नुलाई नेताहरूको उदारताका रुपमा अर्थ्याउँछन् जनमत उपाध्यक्ष अब्दुल खाण।
उनी भन्छन्, ‘मुख्य कुरा नेतृत्वमा लोभलालच हामी कसैमा छैन। हामीले उहाँहरूमाथि र हामीले उहाँहरूमाथि उदारता देखायौँ। नेतृत्वकाबीचमा उदारता, इमानदारिता र सदाचारिता देखिएको हुँदा एकता सम्भव भयो।’
साथै दुई पार्टीहरूको सिद्धान्त, पृष्ठभूमि र एजेन्डा पनि समान भएकोले एकता सहज भएको नेता खाण बताउँछन्। जनताको चाहना पनि त्यही भएको बुझाइ उनको छ।
‘विचार र सिद्धान्त पनि हामी दुवै पार्टीको समान छ। पार्टीको पृष्ठभूमि पनि मेल खान्छ। दुईवटै पार्टी आन्दोलनबाट उठेका हौँ। दुवैले पहिचानको मुद्दा उठाएर स्थापित भएका पार्टी हौँ’, उनी भन्छन्, ‘त्यसका अलावा जनताले पनि दुई पार्टी मिल्नुपर्छ भन्ने चाहेको हुनाले हामी एक भएका हौैँ। दुई पार्टी मिल्नुपर्छ भन्ने चाहेको हुनाले हामी एक भएका हौैँ।’
पूर्वमन्त्रीसमेत रहेका नेता खाण मेची–महाकाली जोड्न पनि जनमत र नाउपाको एकता महत्वपूर्ण ठान्छन्।
उनी भन्छन्, ‘जनमतको आधार स्तम्भ मधेशसहित पूर्वतिर छ भने नाउपाको सुदूरपश्चिमसहित लुम्बिनीमा छ। यस हिसाबले दुई पार्टी मिलेपछि मेची–महाकाली एक हुन्छ। त्यसकारण भौगोलिक दृष्टिकोणले पनि हाम्रो एकता महत्वपूर्ण सावित हुनेछ।’
जनमत र नाउपाबीचको एकता हरेक दृष्टिकोणले प्राकृतिक रहेकाले एकीकृत पार्टी सहज रुपले अघि बढ्ने विश्वास नेताहरूको छ।
नेता खाण भन्छन्, ‘हाम्रो एकता हरेक कोणबाट न्याच्युरल भएकाले एकीकृत पार्टी मजाले अघि बढ्छ। आफ्नो भिजन र मिसनलाई जनतासम्म पुर्याएर देशकै नेतृत्वसम्म जान सक्ने क्षमता तयार गर्ने रणनीतिमा हामी अघि बढेका छौँ।’
रञ्जिताको स्याक्रिफाइस
नाउपाबाट एकताका लागि संरक्षक रेशम चौधरीले अग्रसरता लिएका थिए तर उनका धर्मपत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता सुरुवातमा त्यत्ति सकारात्मक थिइनन्। रेशम र जनमत अध्यक्ष राउतबीच धेरै कुरा मिलिसकेको बाहिरिँदा एकताका लागि आफूलाई कुनै जानकारी नभएको उनको भनाइ थियो।
जसकारण जनमतसँगको एकतामा रञ्जिता नै ‘तगारो’ बन्ने आशंकासमेत कतिपयको थियो। पति–पत्नीबीचको अन्तरसंघर्षले नाउपा नै समाप्त हुने चर्चासमेत चल्दै आएका बेला उक्त आशंका अस्वाभाविक थिएन।
तर अहिले जनमत–नाउपा एकताका लागि रञ्जिता तयार छिन्। राष्ट्रिय दलसँग पार्टी एकता गर्न पाउँदा आफूले ‘स्याक्रिफाइस’ गरेको उनी बताउँछिन्।
‘मेरो असन्तुष्टि केही पनि छैन। माननीय सिके राउतज्यूको राष्ट्रिय पार्टीसँग मिल्ने क्रममा केही कुराको स्याक्रिपाइस गर्नुपर्थ्यो’, उनी भन्छिन्, ‘हामी त्यस ९संरक्षकमा रेशम र अध्यक्षमा सिके राउत०लाई स्वीकारेर जान तयार छौँ।’
पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठ नेतृत्वमा लालच नहुनुका साथै विचार र मुद्दामा मेल भएकाले आफूहरूबीचको एकता सम्भव भएको बताउँछिन्।
‘विगतमा मधेशका दलहरूबीच पदीय लालच, मुद्दा र विचारमा बेमेल हुँदाहुँदै जबरजस्ती मिलाउने प्रयास गरिएकाले एकता नटिकेको हो’, उनी भन्छिन्, ‘तर हामीबीच पदको लोभलाःच छैन, एकले अर्काको सम्मान गर्न जानेका छौँ, त्याग गर्न तयार छौँ। त्यहीकारण सम्भव भयो। तँ भन्दा म ठूलो, मलाई यही चाहिन्छ भनिराखिएको भए सम्भव थिएन।’
प्रतिनिधिसभामा छैटौँ ठूलो दल, प्रदेशमा प्रभाव
जनमत र नाउपा एकतापछि बन्ने नागरिक जनमत प्रतिनिधिसभाको छैटौँ ठूलो दल बन्नेछ। अहिले संसद्मा रहेका १३ वटा दलमध्ये जनमत ८औँ र नागरिक उन्मुक्ति ११औँ दल हुन्।
प्रतिनिधिसभामा जनमतका ६ र नाउपाका ४ सांसद छन्। अब यी दुई दलबीच एक भएपछि १० सांसदसहित छैटौँ ठूलो पार्टी बन्नेछ।
पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पनि १० सिट नै छ। यसरी हेर्दा दुवैको सम्मान हैसियत हुनेछ।
प्रदेशतर्फसमेत नागरिक जनमत पार्टीको प्रभाव बढ्नेछ। प्रदेशतर्फ सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् भने लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । मधेशमा १३ सांसदसहित जनमतको बलियो उपस्थिति छ। उसका लुम्बिनीमा ३ सांसद छन्।
एकतापछि बन्ने नागरिक जनमत १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित चौथो दल बन्नेछ भने ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ७ सांसदसहित चौथो स्थानमै उक्लिनेछ।
थाहा खबर









