बर्दिवास । महोत्तरीमा केहीदिनयता अत्यधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । मनराशिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि ११ गतेसम्म पालिकाको विद्यालयहरुमा बिदा दिईएको बताए ।
उनले असोज महिनामा लागिसक्दा समेत गर्मी नघटेकाले पालिकाले असोज ६ गते निर्णय गरेर वर्षे बिदामा कट्टा हुने गरि नगरपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी बिदा दिइएको जानकारी दिए।अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई विचार गरी विद्यालयमा बिदा दिइएको हो ।
मनराशिसवा नगरपालिकामा २३ वटा सामुदायिक तथा ६ वटा संस्थागत विद्यालयहरुमा करिब आठ हजारभन्दा बढी बालबालिका अध्ययनरत छन् । महोत्तरीमा केही दिनयता तापक्रम ३५ डिग्रीको हाराहारीमा रहने गरेको छ । महोत्तरीकोे अधिकांश विद्यालयको छाना जस्ताको रहेकाले जस्ता तातेर अत्याधिक गर्मी भई विद्यार्थीहरुलाई असहज बनाउने गरेको छ । बर्दिवास नगरपालिका ९ पशुपतीनगरका ५५ वर्षीया बिल्टु मंडलले असोज महिनामा यति गर्मी पहिला कहिले नभोगेको बताए।
असोज महिनाको मौसम न बढी गर्मी न बढी जाडो मिश्रित रहँदै आएको बताउँदै असोजको पहिलो हप्तासम्म यतिधेरै गर्मी बढेकोले कामकाजमा असहजता भएको बताएका छन ।










