काठमाडौं, असार २८ । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा आज भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो । जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए । उनले खेलको ११२ औं मिनेटमा गोल गरेका थिए ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी खेलमा घाइते भएका कारण मैदान छाड्नुपरेको थियो ।
योसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई हराएर उपाधि जितेको थियो । अर्जेन्टिनाले समग्रमा १६ औं पटक कोपाको उपाधि जितेको छ । १६औँ उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक कप जित्ने कीर्तिमान पनि बनाएको छ । अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरुग्वेको १५ उपाधिको कीर्तिमान बराबरी गरेको थियो ।
निकोलस गोन्जालेज दोस्रो हाफमा मैदानबाट बाहिरिएपछि आएका थिए । ६८ औं मिनेटमा मेस्सीको खुट्टामा समस्या भयो ।
चोटका कारण मैदान छाडेपछि मेस्सी निकै भावुक भएका थिए । जसका कारण उनको आँखाबाट आँसु खस्यो । उनले मैदान छाडेपछि मैदानमा उपस्थित दर्शकले मेस्सीलाई ठूलै हुटिङ ताली दिए ।
तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुग्दा पनि अर्जेन्टिनाले पछिल्लो कोपा र विश्वकपको उपाधि जितेका थिए। अर्जेन्टिनाले तीन वर्षमा तेस्रो पटक कोपा २०२४ को उपाधि जिते ।
यसअघि कोपा २०२४ मा चिलीविरुद्धको खेलमा मेस्सी घाइते भएका थिए । जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाए । सेमिफाइनलमा क्याडना विरुद्धको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो ।



















