असार ११ । आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा समूह–२ को उपविजेता इंग्ल्याण्डसँग खेल्नेछ ।
सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।
मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट ९ रनले चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।
ओपनर विराट कोहली शून्यमै आउट भयो । दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।
सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन दिएर २ विकेट लिए ।
२०६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाउन सफल भयो । ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ७६ रन बनाए । मिचेल मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेभिड १५ र डेभिड वार्नर ६ रन बनाएर आउट भए ।
भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन दिएर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट र अक्षर पटेल र जस्प्रित बुमराहले १(१ विकेट लिए ।
अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल अहिले खेल्दैछन् । अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भए अष्ट्रेलिया बाहिरिनेछ ।










